काठमाडौँ । बङ्गालको खाडी र मध्यभारतमा न्यूनचापीय प्रणाली र पश्चिमी वायुप्रणालीको संयुक्त प्रभावले नेपालमा मौसम बदली हुँदा कर्णाली र सुदूर पश्चिम प्रदेशमा भारी वर्ष हुने सम्भावना देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार सुदूर पश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले लुम्बिनी, गण्डकी र सुदूर पश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ भने प्रदेश नं. १ र प्रदेश नं. २ मा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उहाँले बताउनुभयो ।
उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा आइतबारदेखि नै बदली हुनाका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ । गत राति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
महाशाखाको पछिल्लो विवरणमा डडेलधुरामा ११६, दिपायलमा ९५, धनगढीमा ८०, वीरेन्द्रनगरमा, ५९, घोराहीमा ४८ र नेपालगञ्जमा ३९ मिलिमिटर वर्षा भएको थियो ।
सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश नं. १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश नं. २ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूर पश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नं. १, बागमती प्रदेशका केही स्थान तथा प्रदेश नं. २ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूर पच्चिमका केही स्थान र प्रदेश नं. १, लुम्बिनी ,कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
कात्तिक ३ गते बुधबारसम्म पनि सोही मौसमी प्रणाली कायम रहने छ ।