बुटवल । लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले आइतबार शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाउनुभएको छ ।
मुख्यमन्त्री बनेको दुई महिनापछि कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेश सरकारमा ६ जना मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।
नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्धिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको शपथ लिनुभयो ।
यस्तै, दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्या, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रुपमा शपथ लिनुभयो ।
त्यसैगरी रिना नेपाल विकले पर्यटन ग्रामीण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिँचाइ, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा शपथ लिनुभएको छ ।