बुटवल । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा कर्फू आदेश जारी भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो ४ बजेदेखी अर्को आदेश जारी नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरेको हो।
पूर्वमा बुटवल १७ सिवनगरदेखी वडा नम्बर १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनर रानीगञ्ज बस्ती र दक्षिणको वडा नम्बर १८ को मोतीपुर औद्योगिक करिडोरको जमिन अन्तर्गत धन्दापुर सौंरहिया भित्रको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
आइतबार जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली समेत प्रहार गरेको थियो । झडपमा दुई जना घाइते भएका छन् ।
औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको हो ।