जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रदर्शन गरेको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनकपुरसहित प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको हो ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल वितरणमा ब्यापक अनियमितता भएको भन्दै अख्तियारले गएको बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । ज सपाले सो कार्यक्रमलाई बदनाम गर्न र संघीयता कमजोर बनाउन अख्तियारले छापा मारेको भन्दै प्रदर्शन गरेको हो ।
जनकपुरको रेल्वे स्टेशनबाट निस्केको मोटरसाइकल जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै पीडारीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । यस्तै, सिरहाको सिरहा, लहान, राजविराज, कलैया, गौर, वीरगञ्ज लगायतको स्थानमा पनि जसपाका नेता कार्यकर्ताले अख्तियार विरुद्ध प्रदर्शन गरेका छन् ।
यसअघि शनिबार साँझ अख्तियार विरुद्ध प्रदेश २ का आठवटै जिल्लामा राँके जुलुस प्रदर्शन गरिएको थियो । जसपाका नेताहरुले अख्तियारले छापा मारेर संघीयता विरोधी काम गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।
प्रदेश सरकारले साइकल खरिद गर्दा ब्यापक अनियमितता गरेको सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारी साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।