काठमाडौँ । रुकुम पश्चिमका एक युवकले “म राजा बन्छु” भन्दै नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेका छन् तर उनको त्यो प्रयास असफल भएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार २०७८ असोज ८ गते अवलोकनका लागि सङ्ग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने यस्तो प्रयास गरेका थिए ।
श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए तर सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।
‘श्रीपेच बुलेट पु्रफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ’ निर्देशक दाहालले भने ।
उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन ।
‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुन सक्छ’ दाहालले भने– ‘उनको मानसिक अवस्था त्यति ठिक छैन कि भन्ने लागेको छ ।’
टिकट काटेर सङ्ग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् ।
“म राजा बन्छु” भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ ।
घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको छ । (एजेन्सी)