जगदीश ढकाल, नेपालगन्ज।
नेकपा (मसाल) लगाएतको २२ दलीय गठबन्धनले बिहीबार नेपालगन्जमा एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नेपालगन्जको बिपी चोकबाट विरोध प्रदर्शन सहित सुरु भएको जुलुस धम्बोझी चोकमा पुगी सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता एवम् अखिल नेपाल किसान महासंघका महासचिव तुलसिराम सापकोटाले एमसीसी सम्झौता नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको विरुद्ध लक्षित भएकोले यसलाई तत्काल खारेज गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले एमसीसीविरुद्धको आन्दोलन अझै ससक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, नेकपा (माओबादी केन्द्र समाजवादी) का महासचिव नरेश शाही, नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम भुपेन्द्र न्यौपाने, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटा, दे शभक्त जनगणतान्त्रिक मोर्चा बाँकेका अध्यक्ष लक्ष्मी चौलागाई, नेकपाका रोशन कुमार लगाएतले संसदमा एमसीसी सम्झौता पारीत गर्न भैरहेको षडयन्त्रप्रति विरोध जनाउनु भएको थियो ।

नेकपा (माओबादी केन्द्र समाजवादी) बाँके जिल्ला इन्चार्ज सालिकराम पाठकको अध्यक्षतामा सम्पन्न विरोध सभाको सञ्चालन राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियो ।