कमल पौडेल, प्युठान ।
ज्येष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङको स्वास्थ्यमा समस्या देखिएको छ । १०४ वर्षीय नेता गुरुङको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।
Advertisement
दुई दिनअघि देखि अस्वस्थ गुरुङलाई आज प्युठान अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थमा सुधार नआएपछि अक्सिजन सहितको एम्बुलेन्सबाट बुटवल रिफर गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि नजिकैको स्वास्थ्य चौकीका डाक्टरलाई घरमा बोलाएर उहाँको उपचार गराइएको थियो । तर, अवस्था थप जटिल बन्दै जाँदा उहाँलाई प्युठान अस्पताल हुँदै बुटवल लगिएको छ ।
नेता गुरुङको अक्सिजनको लेभल घटबढ भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसले गर्दा उहाँको मानसिकरुपमा समेत असर परेको बताइएको छ । नेता गुरुङले केही दिनअघि मात्रै आफ्नो १०४ औँ जन्मदिन मनाउनुभएको थियो ।