काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा कांग्रेसनिकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरिएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेर दुईजना पदाधिकारी पनि नियुक्त गरेको छ । आयोगको उपाध्यक्षमा नयन्द्र खड्का नियुक्त हुनुभएको छ ।
आयोगका अध्यक्षसहित नवनियुक्त पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराउनु भएको हो ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताउनुभयो ।
अध्यक्ष निरौलाले भन्नुभयो, ‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौँ ।’
सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले देवी ज्ञवाली नेतृत्वमा बनाएको आयोग खारेजी गरेपछि आलोचना भइरहेका बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को आयोग बनाएको हो ।
यसअघि ज्ञवालीले आयोग खारेजीविरुद्ध निवर्तमान अध्यक्ष ज्ञवालीले रिट हाल्नुभएको थियो । तर उक्त रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले अझै छिनोफानो गरिसकेको छैन ।