काठमाडौं । प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुन पाउने भएका छन् ।
सर्वोच्च अदालतले उनीहरुलाई एकीकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको छ।
नेकपा (एमाले) बाट विभाजित भएर बनेको दल एकीकृत समाजवादीमा आफ्नो नाम पनि समावेश गरि पाउँ भनि पाण्डे र भट्टले भदौ ८ गते निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।
तर आयोगले भदौ ९ गते दल दर्ताको क्रममा सनाखत गराउँदा र निर्णय गर्दा उहाँहरुको नाम समावेश हुने वा नहुने भन्ने उल्लेख गरेको थिएन ।
भदौ ४ गते निवेदनमा सही छाप नभएका झलनाथ खनाललाई नेपाली दूतावास मार्फत सनाखत गराएर मान्यता दिएको तर पाण्डे र भट्टलाई आफैँ उपस्थित भएर निवेदन दिँदासमेत आवद्ध नगराएको भन्दै दल दर्ता सम्बन्धी ऐन अनुसार निर्णय नभएको सर्वोच्चले ठहर गरेको हो ।
निर्वाचन आयोगको यो निर्णयले पाण्डे र भट्टको दलीय आवद्धताको हैसियतमा असर परेको सर्वोच्चको ठहर छ ।