डडेल्धुरा । राष्ट्रिय जनमोर्चा डडेल्धुरा जिल्ला समिति पुनर्गठन गरिएको छ । शनिबार बसेको जिल्ला समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।
पुनर्गठित जिल्ला समितिमा अध्यक्षको जिम्मेवारी चन्द्रदेव विकले पाउनुभएको छ । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । लामो समयदेखि देशबाहिर रहनुभएका अध्यक्ष पदम ओलीलाई सम्मानका साथ विदाई गरिएको राजमो डडेल्धुराले जनाएको छ ।
समितिको उपाध्यक्ष भिमराज अवस्थी, सचिव रामचन्द्र धिक्त, सहसचिव टंक अवस्थी र कोषाध्यक्षमा रगुविर कामी चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा मानबहादुर ऐरी, गौतम खत्री, जोगी सिंह ऐर भीमदत्त जोशी, हरिस विक, कर्मराज जोशी, खेमराज जोशी, दलजित एेर, मन्दोधरी ओली, गंगा टमटा, दिलबहादुर ओली, बेलु विक, तुलाराम रोस्यारा रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।
आइतबार सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजमो सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले केही व्यक्तिहरुले फुटपरस्त गतिविधि गरिरहेको भन्दै पार्टीले उनीहरुलाई कारबाही गरेको जानकारी दिनुभयो । साथै उहाँले पार्टी विरोधी गतिविधिमा संलग्न व्यक्तिहरुको भ्रममा नपर्न पनि आम कार्यकर्ता र शुभचिन्तकहरुसँग आग्रह गर्नुभयो ।
यसैबीच आजै डडेल्धुरामा राजमोले एमसीसीविरुद्ध कोणसभा सम्पन्न गरेको छ । अखिल (छैठौं)का जिल्ला अध्यक्ष कर्मराज जोशीले सञ्चालन तथा राजमो जिल्ला अध्यक्ष चन्द्रदेव विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्डेय, राजमो डडेल्धुराका सहसचिव टंक अवस्थी र अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष हेमराज भट्टले सम्बोधन गर्नु भएको थियो ।
