काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी स्वीकार गर्न नसक्ने बताउनुभएको छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने स्पष्ट पार्नुभएको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह भएको भेटका क्रममा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने नेपालले बताउनुभयो ।
भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालय सचिव डा. गंगालाल तुलाधरले भन्नु भयो, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ । राजनीतिक दलहरु जो सरकारमा सामेल छन्, ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतिमा अघि बढछौँ ।’
त्यसक्रममा फातीमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वस्त बनाउन खोजेकी थिइन् । करिव ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दवाव दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताउनु भएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।