बुटवल । राष्ट्रिय जनमोर्चासहित रूपन्देहीका क्रियाशील संयुक्त संघर्ष समितिले एमसीसी खारेजीको माग गर्दै दैनिक विरोध प्रदर्शन गर्दै आएका छन् । संयुक्त संघर्ष समितिले बिहीबार पनि देविनगर चौपारीमा कोण सभा सम्पन्न गरेको छ।
विरोध कार्यक्रममा राजमोको तर्फबाट सम्बोधन गर्दै जिल्ला सचिव टानबहादुर केसीले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्धको परियोजना रहेको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताउनुभयो । उहाँले एमसीसी मुख्यतः चीनलाई घेर्ने उद्देश्यका साथ नेपाल प्रवेश गर्नु दुर्भाग्यपूर्ण रहेको र यसबाट हाम्रो देश विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का भुपेन्द्र न्यौपाने, नेकपाका वीरेन्द्र विक, राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा, नागरिक समाजका पदम कार्कीले सम्बोधन गर्दै एमसीसी इण्डोप्यासेफिक रणनीतिको अंग भएको तथ्यहरू राख्दै अमेरिकी सरकारले सम्झौताका बुदाहरु संशोधन गर्न नसकिने बताउनुभयो । उहाँहरुले आमजनतालाई आन्दोलनमा सहभागी हुन पनि आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन देजमोका राजु भुजेलले गर्नुभएको थियो ।
विरोध कार्यक्रमलाई निरन्तरता दिँदै भदौ २५ गते राजमार्ग चौराहा बुटवलमा व्यापक तैयारी सहित विरोध विरुद्ध सभा गर्ने संयुक्त संघर्ष समितिले जनाएको छ । विरोध कार्यक्रमलाई सफल पार्न आम जनसमुदायलाई सहभागिताको लागि समेत अनुरोध गरेका छन् ।