काठमाडौँ । नेकपा (मसाल) ले पहिले जस्तै अहिले पनि एमसिसी खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
नेपाल सरकारले पत्र पठाएपछि अमेरिकाले दिएको त्यसको उत्तरमा एमसिसीमा कुनै संशोधन गर्न सकिन्न भन्ने उल्लेख भएपछि पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ भदौ २४ गते जारी प्रेसवक्तव्यमा अमेरिकाले पठाएको पत्रको सारतत्त्व एमसिसीमा संशोधन गर्न सकिन्न भन्ने हो भन्ने निष्कर्ष निकालिएको छ । मसालले एमसिसीले नेपालको सार्वभौमिकतामाथि आँच पु¥याउने भएकाले त्यसलाई खारेज गर्नुपर्ने माग दोहो¥याएको छ ।
संसद अवरुद्ध गर्ने नेकपा (एमाले) को क्रियाकलाप दुईदुईपटक प्रतिनिधि सभा विघटन गर्ने उसको पुरानै नीतिकै निरन्तरता भएको उल्लेख गरिएको उक्त वक्तव्यमा प्रतिगमन विरोधी गठबन्धनको महत्त्व अहिले पनि यथावत रहेको उल्लेख गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ
“१. एमसिसीसम्बन्धी नेपाल सरकारको प्रश्नमा अमेरिकाले जुन जवाफ पठाएको छ, त्यसको सारतत्त्व त्यो सम्झौतामा कुनै संशोधन गर्न सकिन्न भन्ने नै हो । त्यसपछिका अन्य सवै जवाफ अर्थहीन हुन जान्छन् । त्यसबाट त्यो सम्झौतामा नेपालको सार्वभौमिकतामा आँच पुग्ने प्रकारका कुनै पनि प्रावधानलाई हटाउन अमेरिका तयार नभएको कुरा प्रष्ट हुन्छ । त्यो अवस्थामा त्यो सम्झौतालाई खारेज गर्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता पहिले जस्तै अहिले पनि छ भन्ने नेकपा (मसाल) ले दृढ मत प्रकट गर्न चाहन्छ ।
२. नेकपा (एमाले) ले आफ्ना पहिलेका १४ जना सांसदको प्रश्न उठाएर संसदलाई अवरोध गर्ने जुन कार्य गरिरहेको छ, त्यसलाई हाम्रो पार्टीले गलत ठान्दछ र विरोध गर्दछ । एमालेको अहिलेको संसदको बैठकलाई अवरोध गर्ने कार्य संसदको दुईदुईपल्ट विघटन गरेर संसदलाई असफल पार्ने जुन प्रयत्न गरिएको थियो, त्यही नीतिको नै निरन्तरता हो ।
३. नेकपा (एमाले) को पूर्व माधव–खनाल पक्षले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) सङ्गठनको जुन निर्माण गर्नुप¥यो, त्यसका लागि ओली पक्ष नै जिम्मेवार छ । ओलीले दुईदुईपल्ट संसदको विघटन गर्ने तथा आफ्नो सङ्गठनभित्र व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली गरेर नेकपा वा एमालेलाई विभाजनको बाटोमा लैजाने तथा देशलाई प्रतिगमनको बाटोमा लैजाने जुन कार्य गरे, त्यस प्रकारको पृष्ठभूमिमा नै माधव–खनाल पक्षले विद्रोहको बाटो समात्न बाध्य हुनुपरेको थियो । माधव–खनाल पक्षको त्यो विद्रोहको सकारात्मक महत्त्व छ; किनभने, त्यसले देशलाई प्रतिगमनतिर जानुबाट बचाउन ऐतिहासिक योगदान दिएको छ ।
४. अहिले एमालेको संसदका बैठकलाई अवरोध गर्ने नीतिका पछाडि सदन र सरकारलाई असफल पार्ने तथा देशलाई मध्यावधि चुनावमा लैजाने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ । त्यसरी देश ओलीको प्रतिगमनलाई पराजित गर्न सफल भए पनि अहिले पनि आफ्नो प्रतिगामी उद्देश्यलाई पूरा गर्न उनी योजनाबद्ध प्रकारले प्रयत्नशील छन् । त्यसकारण प्रतिगमनका विरुद्ध बनेको गठबन्धनलाई अहिले पनि कायम राख्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
५. गठबन्धनको एकतालाई कायम राख्नका लागि दुईओटा कुरामा विशेष ख्याल गर्नुपर्दछ ः प्रथम– गठबन्धनका बिचमा कैयौँ गम्भीर प्रकारका मतभेद छन् । ती मतभेदका बिचमा पनि एकतालाई कायम राख्ने प्रयत्न गर्नुपर्छ† द्वितीय– कैयौँ देशी र विदेशी प्रतिक्रियावादी शक्तिले त्यस (गठबन्धन) लाई टुटाउन प्रयत्न गर्ने कुरा प्रष्ट छ । त्यसकारण त्यसप्रति पनि उच्च सतर्कताको आवश्यकता छ ।”