काठमाडौं । एसएसबीका जबानले तुइन खुस्काइदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणमा सरकारले भारतलाई दुईवटा विरोधपत्र पठाएको छ ।
धामी बेपत्ता घटना र त्यसपछि दार्चुलाको आकाशमा नेपाली सेनाको ब्यारेकमाथिसमेत बारम्बार भारतीय पक्षले अनधिकृतरूपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई नेपाल सरकारले दुईवटा बेग्लाबेग्लै असन्तुष्टि पत्र (कुटनीतिक नोट) पठाएको हो ।
दुवै घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न परराष्ट्र मन्त्रालयले गत शुक्रबार र आइतबार छुट्टाछुट्टै कूटनीतिक नोट भारतलाई पठाएको स्रोतले जनाएको छ ।
‘तुइन घटनाबारे नेपाल सरकारलाई जानकारी दिन पहिलो कूटनीतिक नोट भदौ १८ गते तथा नेपाली आकाशमा अनाधिकृतरूपमा हेलिकप्टर उडाइएको सम्बन्धमा भदौ २० गते अर्को नोट काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई पठाएका छौँ’, परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले भने ।
गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई विरोधपत्र पठाइएको ती अधिकारीले बताए । ‘नेपाल र भारतबीचका सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न’ पत्रमा माग गरिएको छ ।
नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयमिक सम्बन्ध सानातिना समस्याबाट प्रभावित हुनुहुँदैन भन्ने मान्यताका साथ दुवै घटनाको वास्तविकताबारे बुझ्न पनि कूटनीतिक नोटमा ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीलाई भारतीय एसएसबीले तुइनबाट महाकालीमा खसालेका थिए । उनी अझै बेपत्ता छन् । जयसिंह बेपत्ता भएको घिटनामा एसएसबीको संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले यही भदौ १५ गते सरकारलाई बुझाएको थियो ।
छानबिन समितिको प्रतिवेदनको निष्कर्ष नेपाल सरकारले सार्वजनिक गरेपछि नयाँ दिल्लीमा विदेश मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा प्रवक्ता अरिन्दम बाग्चीले त्यसबारेमा भारत सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका थिए ।
जयसिंह धामीको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत भारतले रोक लगाएको थियो । ड्रोनको सहायताले जयसिंहलाई खोज्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको अनुरोधकोसमेत भारतले कुनै प्रत्युत्तर दिएको छैन ।
तुइन प्रकरणपछि नेपालमा एसएसबीको आचोचना हुँदा भारतीय पक्षले महाकाली वारिका बस्ती, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका संरचनामाथि बारम्बार हेलिकप्टर उडाएको थियो । (रासस)