काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई मुख्यमन्त्री पद जोगाउने भए एमाले छोडेर आफूलाई साथ दिन अल्टिमेटम दिनुभएको छ ।
नयाँ पार्टी गठन भएको २१ दिनभित्र सांसदहरूले दल रोज्न पाउने व्यवस्था छ । सोही अवधिभित्र दुवैजना मुख्यमन्त्रीलाई आफ्नो पार्टीमा आउन वा मुख्यमन्त्री छोड्न भनिएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो । एमाले नछोडे उहाँहरुलाई समर्थन गर्न नसकिने नेता खतिवडाले स्पष्ट पार्नुभएको छ ।
‘उहाँहरु हाम्रै पार्टीमा आउनुभयो भने मुख्यमन्त्री पद जोगियो । ओलीकै पार्टीमा बस्नुभयो भने मुख्यमन्त्री बनाइराख्दैनौँ’ खतिवडाले भन्नुभयो, ‘हाम्रो पार्टीमा नभएका व्यक्तिलाई किन राख्छौँ र ? उहाँहरुको पद धरापमा छ ।’
शाक्यले भदौ २ गते र आचार्यले भदौ १० गते मुख्यमन्त्रीको शपथ लिनुभएको हो । लामो समयदेखि माधव नेपाललाई साथ दिएका नेताद्वय शाक्य र आचार्य नेपालले नयाँ दल दर्ता गर्ने तयारी गरेपछि उहाँको साथ छोडेर एमालेमै फर्किएका हुन् । त्यसबापत उनीहरुले मुख्यमन्त्री पद पाएका थिए ।
प्रदेश १ मा ९३ सदस्यीय प्रदेश सभा छ । जहाँ सरकार बनाउन ४७ मत चाहिन्छ। सभामुखसहित एमालेका ५१ सांसद छन्। पहिले नेपाल पक्षका २० सांसद थिए । दल विभाजन भएपछि भने नेपालको पार्टीमा आउने सांसदको संख्या निश्चित छैन। यद्यपि, सो प्रदेशबाट नेता नेपालको नयाँ पार्टीमा १० जना प्रदेश सांसद खुलिसकेका छन्।
नेपाल निकट एक सांसदका अनुसार अन्य ५ जनाले आउने बताइसकेका छन्।
वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा पर्नुभएको छ । १ सय ९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५५ सांसद छन्। त्यसमा माधव नेपाल पक्षमा २० सांसद थिए । नयाँ दल बनाएपछि नेपाल पक्षमा जम्मा १३ जना मात्र खुलेका छन्। यही संख्या पनि शाक्यलाई हटाउन पर्याप्त छ ।
यद्यपि, शाक्य र आचार्य एकीकृत समाजवादी पार्टीमा खुलेको अवस्थामा दुवैको पद सुरक्षित हुने नभए केही दिनभित्रै अपदस्थ हुने नेता जगन्नाथ खतिवडाले बताउनुभयो । एमाले र एकीकृत समाजवादी पार्टीका नेताहरुले भदौ २२ सम्म दल बदली गर्न पाउने छन् ।