ऋतु केसी ##
नजन्मिदै भु्रणमै परिचय र परीक्षा दिनुपर्ने
तिम्रो बाध्यता
तिमीजस्तै तिम्रो आमाले पनि
कदम कदममा परीक्षा दिइरहेकी छन्
तिमीलाई खुसी खुसी आत्मसाथ गर्न पाउने
तिम्री आमाको रहर
अनि, स्वतन्त्रतालाई यो समाजले नराम्रोसँग
घाँटी निमोठिदिएको छ
कोपिलैबिना फूलको सपना देख्छ यो समाज
सृजनाबिना नै सृष्टिको परिकल्पना गर्छ यो समाज,
तिमी छौ र त आज हामी सबै छौँ नारी
शिशुदेखी प्रौढसम्म बलात्कृत हुदा
आफ्नो अस्तित्व र अस्मिता जोगाउन नसकेर
प्रताडित बन्दा
उत्ताउलीको पगरी लगाइदियो समाजले
उल्टै उसैलाई
निर्दोषपनाको प्रमाण पेस गर्न सकिनन् बिचरी
बिटुली बनाइदियो समाजले उसैलाई
जो वर्षौंदेखि चलिरहेको छ उसैगरी
दाइजोको मोलमोलाइसँगै
त्यहीमध्यको एउटा सामानजस्तै
उसलाई पनि बिहे गर्ने भएछ
मर्द कहलिएको उसले
पुगेन रे खोजेजति
जलाइदियो ज्युँदो प्राणलाई पाशविक बनेर
आखिर उसका लागि सौदाबाजी गरेर
ल्याएकी एउटा वस्तु न त थिई ऊ
चुपचाप आशुसँगै सहँदै छन जन्मदाता
उल्टो पश्चाताप गरिरहेछन् उसको
मोल तिर्न सक्ने औकात भएन आफ्नो भनेर
बिडम्बना
ऊ ज्युँदै जलेर मरी
अर्को फेरि मोलमोलाइमा निस्किसक्यो उसैगरी
मुख्खिनी आबैका साप्रामा निलाडाम बसेछन्
तर, कपाल भुत्लाइयो
तल्लाघरे आरने दाइकी सुन्तलीका मनरूपा भाउजुलाई
तातो झिरले किन रोपियो बुझ्दै–बुझिनन्
धेरै दिनपछि थाहा पाइन्
फुन्द्रे साहुको भैसीले दुध नदिएको रे भनेर
होइन यो समाजका मुख्खिनी आबै, फुन्द्रे साहुनीहरू
किन कहिल्यै लुछिन र रोपिनुपर्दैन हँ ?
किन आरोप खेप्नुपर्दैन उनीहरूले
सुन्तली र मनरूपाले जस्तै हँ ?
वर्गीय विभेद यहीँनेर छ र त
वर्गीय लडाइँको उत्थान पनि यहीँनेरबाट गर्नुछ
उपलब्धि भएका केही चिम्टि अधिकार
र समानताका कुरा नगर भो
आन्दोलनका अग्रपङ्क्तिमा खटेर
लाठी र गोलीको पर्वाह नगरी
लडेर ल्याएको हक हो यो
ल्याउन धेरै बाँकी छ
लड्न धेरै बाँकी छ
जुट्न र जुटाउन धेरै बाँकी छ
उठन र उठाउन धेरै बाँकी छ
किनकि लाखौँ शोषित, पीडितको
मुक्तिको यात्रा निरन्तर चलाउनु छ
थाक्दै नथाकी विश्राम नलिई
त्यसैले त
समाजका हरेक अन्धकार चिर्न
दियो र जुनकिरी बनेर पुग्नु छ
असमानता र अज्ञानताका खाडल पुर्न
निर्भिय राँको बनेर दन्कनु छ
म बलेर हुन्न तिमी बलेर हुन्न साथी
हामी बल्नुछ राको बनेर दन्कनु छ साथी
आऊँ आज एउटा प्रण गरौँ हामी साथसाथ
यो समाज बदल्न दियो बनेर प्रकाश छर्ने छौँ
आऊ आज एउटा प्रण गरौँ साथी
राँको बनेर सबै खाले विभेदका विरुद्ध लडने छौँ
आऊँ एउटा प्रण गरौँ साथी ।