त्यो बेलाको स्मरण गर्दा
म र समयबीच
निकै राम्रो सम्बन्ध थियो
जुन बेला देख्नेहरु भन्ने गर्थे
वाह!
छोरी होस् त यस्तो
कति निश्चल भाव
सुमधुर अनि शान्त स्वभाव
मुलको पानी खाएझै गर्छे
कूलको घडेरीमा हुर्किएर
साच्चिकै आमूल परिवर्तनको
अठोट लिएर आए झैँ गर्छे
अरुका यस्तै–यस्तै कुरा सुन्थेँ
हर्षको छहारीभित्र आनन्दित हुन्थेँ
कहिलेकाहीँ यिनै कुराले भावुक बनाउँथ्यो
अनि बलिन्धारा आँसु झारी रुन्थेँ
जुन आँसु
बन्दैथ्यो म भित्रको ठुलो कमजोरी
तर, त्यहीँ आँसु
मेरो लागि थियोे
विवशताको झरी
भोग्दा र सुन्दा कुरा थरीथरी
कुनैबेला
यस्तो भयो कि
म हिँड्न चाहन्थेँ
तर मेरो हालत रुक्दै थियो
पुरा गर्छु भन्ने हिम्मत लिन्थेँ
तर पनि हरेक सपना चुक्दै थियो
आखिर किन यस्तो हुँदैछ भनी
त्यहीँ भित्र समयको अगाडि विभिन्न
प्रश्नको दियालो बाल्दै
उत्तरको खोजीमा
लाचारी बनी यो शिर झुक्दै थियो
जे गर्दा पनि, जसो गर्दा पनि
मेरो साथीको बखत फुरेन
उ निशब्द नै रहिरह्यो
आफ्नै कुरामा जिद्दी भैरह्यो
आखिर उसको फैसला यस्तो भयो कि
नत उसले मेरो पिडा सुन्न मान्यो
नत मेरो आँखामा रसाउने मूलको भाव बुझ्न अनि
नत मेरो हालत नै बुझ्न जान्यो
वस ! उसलाई
आफ्नो नियम पालना गर्नु थियो
त्यसैले,
उसले मलाई लत्याएर
निरन्तर अगाडि चलिरह्यो
जुनबेला
मेरो केही सीप लागेन
मैले उसलाई पछ्याउँदै जान खोज्दा पनि भेट्छु भन्ने हिम्मत नै जागेन
त्यहीँ बेला झल्किन्थ्यो मुस्कानभित्र लुकेको यथार्थको झरी
भोग्दा र सुन्दा कुरा थरीथरी
देख्नेले चिहार राम्रो देख्थे होला
तर मेरो जिहार बुझ्न कसैले चाहेन
एक गाँस खाएको र एक सर्को लाएको
सबैले देखे
तर कसरी खाए, के गरी लाए कसैले औँल्याएन
घर बस्थेँ घर अँध्यारो हुँदा
वन जान्थेँ वन सुन्ने झैँ लागेर आउँदा
दुख्थ्यो जिउ पाउदेखी शिरसम्म
त्यो पिडालाई सामना गर्न
को सँग मनको वह गुन्ने झैँ लागेर आउँदा
बा–आमालाई सम्झेर रोएँ
श्रीमान सम्झेर रोएँ
घरपरिवार सम्झेर रोएँ
धेरै भन्दा झन धेरै रोएँ त काखको छोरा अनि उसको भविष्य सम्झेर रोएँ
मात्रै सम्झेर रोएँ
कसैलाइ केही बताएन
किनकी म मेरो लागि वास्तविक बिरामी हुँदाहुँदै पनि अरुको नजरमा बाहाना गर्ने देखावटी बिरामी भैसकेकी थिएँ
जब छोरी थिएँ माइती देशले हेप्थ्यो
तब बुहारी बने घरबेशीले हेप्दै छ
म थाकीसकेकी थिएँ
म टुटिसकेकी थिएँ
म दिनदिनै मरिरहेकी थिएँ
दुध खाने छोरालाई भात खानेसम्म त पक्कै बनाउनेछु भन्ने आश लिँदै
बिचरी! म आफै मृत्युसँग संघर्ष गरिरहेकी थिएँ
तर मेरो दुखाइ र भोगाइको पिडा
कसैलाई केही पत्तो नै थिएन
वस!१ म आफै मृत्युसँग लड्दै थिएँ
लड्दालड्दै हार माने झैँ हुन्थ्यो अनि
म मर्छु कि भन्ने लाग्थ्यो
अनि झर्थ्यो मुस्कानभित्र लुकेको यथार्थको झरी
भोग्दा र सुन्दा कुरा थरीथरी
उमेरसँगै उत्तरदायित्व थपिँदै थियो
जति उमेर बढ्दै थियो
उति प्राण घट्दै थियो
मलाई त यस्तो पो हुन्छ भनेर आफन्तसँग दुःख पोख्दा
म आफै मजाकको पात्र मात्र बन्थे
लाज सरम पचेको भन्थे
कसैले जे सोच्यो त्यही हुन्छ भन्थे
कसैले त बाह्रमासे ऐया! उइ मै गन्थे
हो हजुर, हो
आफन्त पराईका नमिठा वचन सहेर मन दुखाउनु भन्दा
मलाई मेरो शरीरभरि दुख्ने पिडा सहेर तन दुखाउनु नै बेस लाग्यो
त्यसैले
अब जे जस्तो पिडा भए पनि
जति दुखाइ सहन परे पनि
आफैले सामना गर्छु भन्ने आँट लिएँ
जसोतसो सामना गरेको पनि थिएँ
समय बित्दै गयो
झन् पछी झन् शरीर कमजोर भयो
सदा झैँ त्यो दिन पनि उहाँको फोन आयो
सन्चो छैन हजुर के भाको हो भन्न मन लायो
उहाँको अनुमतिमा हिँडे बस चढी
जति बस पर सर्छ त्यति मलाई च्याप्न थाल्यो बढी
शरीर लुलो झैँ भाथ्यो बान्ता गरी–गरी
तै पनि बाबुको साथमा पुर्याउनेछु भन्दै काखको छोरालाई हेर्थे घरीघरी
साह्रै च्याप्यो, छ्टपटी भयो
एता फर्केँ, उता फर्केँ
एक टकले काखमा भाको छोरा हेर्दै धुरुधुरु धर्केँ
यतिकैमा
खुट्टा काँप्यो
शरीर चिसो भयो
हात चलेन
जिब्रो ढल्यो
सास एकोहोरो चल्यो
एक मुठी सास
केलाइ छ र आश
एकैछिनमा पुरै शरीर ढल्यो
रोयौ होला आमा भनि तह–तह गरी
अपरिचित मान्छे सामु बिचल्लीमा परी
नरोउ छोरा भन्न नि पाइन
तिमी रुँदाखेरी
क्षमा पाउँ मेरो बाबू बान्ताले गर्दा
अन्तिम पल्ट दुध चुसाउन पनि पाएन प्राण हुँदाखेरी
आमा–छोराको मिलन यतिसम्म रहेछ
अब तिमि बाबासँग गए
ज्ञानि बनी धेरै पढ्नु मेरो बाँकी जीवनको आयु तिमिलाई थपियोस् सधैँ भरी निरोगी भए
समय अनुसार चल्न सिक्नु
समयको ताल होइन
मान्छेको हाल अनुसार बोल्न सिक्नु
कहिलेकाँही आँखाले देखेको कुरा पनि
सत्य नहुन सक्छ त्यसैले त्योभित्रको यथार्थ के हो खोतल्न सिक्नु छोरा
ताकि
अरुहरु पनि म जस्तै पिडामा खेपिन नपरोस्
संख्यामा हजार आफन्त हुँदाहुँदै पनि
एक्लै बनी बारम्बार हेपिन नपरोस्
धेरै होस् या थोरै
रोग, भोग र शोक
सबैलाई लाग्ने चिज हो
अपहेलना कसैलाई नगर्नु
सके त्यी पीडितहरुको घाउमा
मलमपट्टि भर्नु
नसके त्यो चर्केको घाउमा
खुर्सानीले झैँ पोल्ने वचन नछर्नु
(साना या ठूला विभिन्न रोगबाट ग्रसित सम्पूर्ण पीडितहरूलाई समर्पित गर्दै मृतक धर्माकुमारी बटला को सम्झनामा रचित कविता ।)
खगेन्द्रा बिष्ट, केन्द्रीय सदस्य, अखिल (छैठौं)