कलैया । बाराको स्थानीयतहका एक जना महिला जनप्रतिनिधिमाथिद निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
बाराको कलैया उपमहानगरपालिका–२७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात प्रहरीको दाबी छ ।
आक्रमणकारीले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए ।
आक्रमण भएको सूचना पाएलगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्धार गरेको थियो । प्रहरीले तारादेवीलाई उद्धार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरू विरुद्ध बारा जिल्ला अदालतमा सामाजिक अपराधअन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको बताइएको छ ।