काठमाडौँ । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन सातापहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको भदौ ५ गते शनिबार बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिनुभयो ।
Advertisement
तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आउनुभएको थियो । उहाँ हल्का रमाइलो टेलिसिरियलमा “बखते” नामबाट दर्शकमाझ चर्चित हुनुभएको थियो ।
यस्तै, उहाँले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको “आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गर्नुभएको थियो ।
थापाका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । थापाको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताउनुभयो ।