काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका नेपालीको विवरण संकलन सुरु गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयरूमार्फत बिहीबारदेखि विवरण संकलन सुरु गरेको हो ।
प्रशासन कार्यालयहरूले आफ्नो जिल्लाबाट अफगानिस्तान गएका नागरिकको विवरण तीन दिनभित्र टिपाउन सूचना प्रकाशित गरेको छ । विवरणमा व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर, पासपोर्ट नम्बर, कार्यरत कम्पनीको नाम र सूचकको नाम र स्थायी ठेगाना उल्लेख भएको फाराम भर्न आग्रह गरिएको छ ।
अफगानिस्तानबाट थप ८ नेपाली घर फर्किए
यसैबीच अफगानिस्तानबाट उद्धार भएका थप ८ जना नेपाली नागरिक आज (बिहीबार) नेपाल आएका छन्।
आज जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप ८ जना समेत गरी हालसम्म २९६ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट नेपाल फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा कोभिड १९ को परीक्षण गरी निगेटिभ आएकालाई घर पठाइएको छ भने पोजिटिभ आएकालाई सोही स्थानमा आइ सोलेसनमा राखिएको छ ।
कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ ५ बजेसम्म ३०० जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेको मन्त्रालयले जनाएको छ ।