काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा पक्षमा मतदान नगर्ने १४ जना सांसदलाई कारबाही गर्न संसद सचिवालसमक्ष सिफारिस गरेको हो।
एमालेले मंगलबार बसेको संसदीय दलको बैठकपछि ती सांसदहरुमाथि कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएको हो । ती सांसदहरुमाथि कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको छ।
यी हुन् कारबाही गरिएका सांसद
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८.पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणि चौधरी
कारबाही फिर्ता लिन नेपाल पक्षको दबाब
यता, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दवाव दिएको छ ।
मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको र जालेझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भएको भन्दै ओलीले जालझेल गरेर गरेका निर्णयहरु फिर्ता नलिए आवश्यक्ताले अघि बढ्ने चेतावनी दिनुभयो ।