काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपाली नागरिक उद्धार गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन समेत निर्देशन दिएको जानकारी दिनुभएको छ ।
‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छु’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।
अफगानिस्तानमा हजारौं नेपालीहरु रोजगारीको सिलसिलामा पुगेका छन् । तर, तथ्यांक सरकारसँग छैन ।
देउवाले अफगानिस्तानमा रहेका नेपालीको सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने स्पष्ट पार्नुभएको छ ।
‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ देउवाले भन्नुभएको छ, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’
अफगानिस्तानमा आइतबार तालिवानले शासनसत्ता कब्जा गरेपछि नेपालीहरुको उद्धारको विषय उठिरहँदा प्रधानमन्त्री देउवाको भनाई आएको हो ।