काठमाडौँ । भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधन गर्दका लागि वार्ता समिति गठन गर्नुपर्ने आवाज उठेको छ ।
नेपाली काङ्ग्रेसकी सांसद डिला सङ्ग्रौला पन्तले ब्रिटिस सरकारसँग वार्ता गर्न वार्ता समितिको आवश्यकता औल्याउनुभएको हो ।
२०७८ साउन २९ गते प्रतिनिधि सभा बैठकमा गोर्खा सैनिक विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सांसद पन्तले कूटनीतिक माध्यमबाट समाधान खोज्न माग गर्नुभएको हो ।
‘नेपाल तथा ब्रिटेनबिच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिक हुन्’ उहाँको भनाइ थियो– ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिक अहिले आफ्नै लागि न्याय माग्दै गत शनिबारदेखि ब्रिटिस प्रधानमन्त्री कार्यालयनजिकै लन्डनमा आमरण अनशन बसिरहेका छन् ।’
‘उनीहरूको जीवनरक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो’ सांसद सङ्ग्रौलाले अगाडि भन्नुभयो– ‘त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।’