काठमाडौँ । सर्वोच्च अदालतले वृद्धवृद्धा, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिलाई घरमै गएर खोप लगाइदिन आदेश दिएको छ । यस्ता व्यक्तिहरू खोप केन्द्रसम्म आउन नसक्ने कारण स्मरण गराउँदै सर्वोच्चले यस्तो आदिेश दिएको हो ।
अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले २०७८ साउन २९ गते यस्तो आदेश दिएको हो ।
“संवैधानिक हकको प्रचलनको परिप्रेक्ष्यमा खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तरामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिसमेतका लागि” सर्वोच्चको आदेशमा अगाडि भनिएको छ– “राज्यले वडा वडास्तरबाट लगत सङ्कलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम सञ्चालन गर्नू/गराउनू भनी विपक्षीको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ ।”
संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको र धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि सर्वोच्चको आदेशमा स्मरण गराएको छ ।