काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलास्थित तुइन प्रकरणबाट महाकाली नदीमा बेपत्ता जयसिंह धामीको घटनाबारे सत्यतथ्य संसदलाई जानकारी दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
२०७८ साउन २६ गते प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सो घटनाको सत्यतथ्य पत्ता लगाई विस्तृत विवरणसहितको जानकारी प्रतिनिधि सभामा छिट्टै दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
सापकोटाले भन्नुभयो– ‘नेपालबाट भारत जाने क्रममा महाकाली नदी तुइनबाट पार गर्दै गर्दा तुइनबाट खसेर बेपत्ता हुनुभएका जयसिंह धामीको विषयमा मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाई घटनाको विस्तृत विवरणसहितको जानकारी यथाशाक्य छिटो प्रतिनिधि सभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु ।’
संसदमा शून्य समयमा बोल्ने सांसदहरूले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।
भारतीय अर्धसैनिक बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको खोजी जारी छ भने सरकारी टोली छानबिन गर्न भन्दै घटनास्थलमा रहेको छ ।