काठमाडौँ । जनता–समाजवादी पार्टी विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदन “हेर्न नभ्याइने” सूचीमा परेको छ । २०७८ साउन १८ गते सोमबारका लागि पेसी तोकिए पनि त्यसमाथि सुनुवाइ हुन सकेन ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार “हेर्न नभ्याइने” सूचीमा परेको हो ।
निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादवसमेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।
रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
यसअघि जसपाको आधिकारिकतासम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहनुनपर्ने ठहर गरेको थियो ।
ठाकुरका तर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाइ गर्ने गरी पेसी तोकिएको थियो ।