काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति फेरि भीषण बाढी आएको छ । गत असार १ गते आएको भीषण बाढीका कारण तहसनहस भएको मेलम्ची क्षेत्र गएरातिको बाढीबाट पुनः नराम्रो गरी प्रभावित भएको छ ।
बाढीले नदी तटीय क्षेत्रका १५ वटा घर, दुईवटा पुल बगाएको प्रहरीले जनाएको छ । बाढी अझै बढीरहेकोले थप क्षति हुनसक्ने प्रहरीको अनुमान छ ।
सिन्धुपाल्चोकमा अहिले पानी परेको छैन । तर पानी नपरेको अवस्थामासमेत एक्कासी ठूलो बाढी आउँदा स्थानीयबासी अचम्ममा परेका छन्। अहिलेको बाढी गएको असार १ गतेको भन्दा ठूलो भएको प्रहरीको भनाई छ ।
हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।
उहाँले हिमाली क्षेत्रमा हिमताल फुटेर वा पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा ठूलो बाढी आएको हुनसक्ने बताउनुभयो ।
बाढीले हलम्बु गाउँपालिकाको चनौटे, ग्यालचुन लगाएका बस्तीमा धेरै क्षति पुगेको छ । यसअघिको बाढीका कारण मेलम्चीमा मानिसहरू नबसेको हुँदा मानवीय क्षति भने भएको छैन । शनिबार साँझ आएको बाढी पनि यसअघि बगेको मेलम्चीस्थित चनौटे बजारको बीच भागबाट बगिरहेको छ।
यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन्।