काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अब अध्यक्ष केपी ओलीसँग सम्बन्ध विच्छेद गरेर सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् । बुधबार भएको भेलामा नेता नेपाल अधिकांश सांसदहरूले फरक तरिकाले बढ्नुपर्ने र देउवा नेतृत्वको सरकारमा सहभागी हुन जोड दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदको हिजो भएको भेलामा नेताहरूले आफैँले बनाएको सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाब दिएका हुन् । सरकारमा सहभागी नभए झन् कमजोर हुने सांसदहरूले बताएका थिए ।
सांसद किसानकुमार श्रेष्ठले संसदमा मत दिएर बनाएको सरकारमा सहभागी हुन उपयुक्र हुने धारणा राख्दै त्यसबारे निर्णय गर्ने अधिकार भने नेता नेपाललाई नै दिएको बताउनुभयो ।
‘हाम्रै मतबाट पुनर्स्थापित संसद् र संसद्मा मत दिएर सरकार र संसद् दुवैलाई प्रभावकारी बनाउन भूमिका खेल्नुपर्छ, त्यस सन्दर्भमा के–के गर्नुपर्ने हो, अन्तिम निर्णय गर्ने अधिकार वरिष्ठ नेतालाई नै दिएका छौँ,’ उहाँले भन्नुभयो ।
सांसद मेटमणी चौधरीले पार्टी अध्यक्ष ओलीले आफ्ना गलत कदमलाई सच्याउनुको सट्टा सही ठहर्याउने प्रयास गरिरहेकाले अब ओलीसँग एकताको सम्भावना कम रहेको बताउनुभयो । वैचारिक रुपमै अलग भइसकेकाले आफ्नो ढंगले अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।
‘हामीले राजनीतिक रूपमा ओलीका कदम गलत छन् भनेर संघर्ष गर्यौँ । तर, ओली अहिले पनि आफ्ना कदम जायज छन् भनिरहेका छन् ’ चौधरीले भन्नु्भयो, ‘यसरी विचार अलग भएपछि पार्टी एकता सम्भव छैन । अब हामीले विकल्प सोच्नुपर्छ ।’
सरकारमा सहभागी हुने विषयमा नेपाल समूहले कानुनी परामर्शसमेत थालेको छ । संविधानको धारा ७६ (५) अनुसार बनेको सरकारलाई विश्वासको मत दिन स्वतन्त्र हुने सांसद मन्त्री बन्न सक्ने नेपाल समूहका सांसदहरूको तर्क छ । यसरी मन्त्री बन्दा पार्टीले कारबाही गर्न नसक्ने उनीहरूको दाबी छ ।
वरिष्ठ नेपालले भने अहिले सरकारमा जान हतार गर्न नहुने बताउनु भएको थियो । नेपालले सरकारमा जाँदा सांसद पद नै गुम्नसक्नेतर्फ सचेत गराउनु भएको थियो । धैर्यतापूर्वक अडिएमा ओलीलाई एमालेभित्रै परास्त गर्न सकिने नेपालको विश्वास छ ।
सांसदहरूसँगको छलफलमा पार्टी एकताका लागि दशबुँदे सहमति तयार गर्ने नेपाल समूहका विघटित कार्यदलका सदस्यलाई बोलाइए पनि उनीहरू अनुपस्थित भएका थिए ।