काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि जतिसुकै महङ्गो परे पनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा गरिछाडने छु ।
हामी ऋण लिएर जति महङ्गो भए पनि नेपाली जनतालाई कोरोना खोप पु¥याउने छौँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।’
नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबिचमा सत्ता साझेदार दलहरूसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नुभयो । पुष्पकमल दाहाल, उपेन्द्र यादवजस्ता अनुभवी नेताहरूसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले संसदीय दलका नेता सुभाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोपसमेत लगाउनुभयो । संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उहाँले त्यसको व्याख्या गलत ढङ्गले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो ।
उहाँले भन्नुभयो– ‘विपक्षी दलका नेता हुुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी हिँडनुभयो । त्यो संविधानमा ७५ (५) किन लेख्नुभयो भनी प्रश्न सोध्नेवाला थिएँ । उहाँ सभामुख हुुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नुभएको थियो भने अब कहिल्यै पनि पार्लियामेन्ट भङ्ग हुने छैन । म उहाँले बोल्नुभएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’
यसअघि बोल्दै एमाले संसदीय दलका उपनेता नेम्वाङले देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री बन्नुभएको हो भनी प्रश्न गर्नुभएको थियो । उहाँले जनादेशबाट भनाइ देउवा परमादेशबाट प्रधानमन्त्री बनेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदलाई ह्विप नलगाएको दाबीसमेत गर्नुभयो । त्यस अवसरमा उहाँले आफूलाई विश्वासको मत दिने सबैै सांसदलाई धन्यवादसमेत दिनुभयो ।
‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’ प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्विप भनेर नेम्वाङले उल्टो कुरा गर्नुभयो ।’