काठमाडौँ । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी–केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र–समाजवादी) बनेको छ ।
पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाइएको छ ।
२०७८ साउन ७ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र–समाजवादी) को साउन ४, ५ र ६ गते बसेको बैठकले पार्टी केन्द्रय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘पार्टीको बैठकले कम्युनिस्ट सम्मेलन आयोजना गर्ने निर्णय गरेकोे छ ।’
अध्यक्ष बुढाथोकीले पार्टीको नवौँ महाधिवेशन आगामी फागुन १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
उहाँले दुईतिहाइ बहुमतप्राप्त कम्युनिस्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदूरदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण दक्षिणपन्थीहरूको हातमा पुगेको टिप्पणी गर्नुभयो ।
बुढाथोकीले “वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ” भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिनुभयो । माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पुर्याउने बैठकले निर्णय गरेको सुनाए ।
नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उहाँको भनाइ थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।