महेन्द्रनगर । धानखेतका लागि रासायनिक मल नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलका लागि दैनिकजसो किसानको भिड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मल उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलका लागि आउने गरेका भए पनि रित्तै फर्काउनुपरेको जानकारी दिनुभयो ।
‘मात्रै मल चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्’ कार्यालय प्रमुख शाहले भन्नुभयो–‘माथिबाटै थोरै मल आउँछ, सबैतिर दिँदासमेत पुग्दैन ।’ उहाँले यहाँका नौ वटै पालिकामा मल आपूर्ति सीमित रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिनुभयो ।
शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । यहाँ मल भारतबाट अवैध रूपमा आयात गरेर महङ्गोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटक–पटक कृषि सामग्रीमा धाउदा पनि नपाएको पीडा सुनाउनुभयो ।
‘भारतबाट ल्याऊँ, प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्छ’ रानाले भन्नुभयो– ‘यहाँ सरकारीले पनि मनमर्जी दररेटमा मलखाद बिक्री गर्दै छन् ।’ कृषि सामग्रीले मलखाद अनुदानमा बिक्री–वितरण गरिरहेको भए पनि यहाँ लामो समयदेखि मलको अभाव हँुदै आएको छ ।
यस वर्ष धानखेतीको समयमा कृषिबाट एक हजार ३५ मेट्रिक टन युरिया, एक हजार १८६ मेट्रिक टन डिएपी र ४३.६ मेट्रिक टन पोटास बिक्री भएको कार्यालय प्रमुख शाहले बताउनुभयो । बेदकोटस्थित इन्दे्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले पहिलो चरणमा सहकारीमा ४३ बोरा युरिया आए पनि सकिएको बताउनुभयो । (रासस)