काठमाडौँ । नेपाली काङ्ग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा डिजिटल भोटिङको व्यवस्था मिलाउने भएको छ । काङ्ग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।
यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो । प्रविधिमार्फत पार्टीको आगामी चौधौँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता विकास गरिएको छ ।
विभागको हालै सम्पन्न बैठकले डिजिटल भोटिङको नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नुका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरको नेटवर्क तयार गरिएको छ । महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।
महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।