काठमाडौं । नेकपा(एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । सर्वोच्चको फैसलाको विरोधमा देशभर भण्डाफोर गर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा/उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो । निर्दलीय व्यवस्था तर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो । त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ र यसलाई व्यापक रुपमा जनताका विचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौँ । र यसलाई हामी व्यापक रुपमा जनताका विचमा पु¥याउने छौँ ।’
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभयाे । उहाँले गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको बताउनुभयो । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अस्वस्थ, अपवित्र, अप्राकृतिक गठबन्धन रहेको छ राजनीतिक क्षेत्रमा । त्यस गठबन्धनले लोकतन्त्रको मुल्य, मान्यता तोडेको छ । दलीय प्रणाली, दलीय व्यवस्था, त्यसका सञ्चालन विधि, ति कुरालाई तोडेको छ । र एउटा अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको छ । अवलम्वन गरेको छ । यो धेरै गम्भीर कुरा हो लोकतान्त्रिक आन्दोलनका लागि ।’