काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार–२०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असार २५ गते आयोजित कार्यक्रममाझ विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई सो पुरस्कार प्रदान गरिएको हो ।
महाकवि देवकोटा पुरस्कार साहित्यका विभिन्न विधामा गरी पाँच स्रष्टालाई तथा प्रदेशगत आधारमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार–२०७७ बाट विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरिएको थियो ।
प्रधानमन्त्रीले समारोहमा जनही एक लाख राशीका भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार आदि पुरस्कार प्रदान गर्नुभएको हो ।
सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार पुरनसिंह दयाल बैतडीलाई, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण मिडिया सेन्टरलाई प्रदान गरिएको थियो ।
त्यस्तै, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्राडा देवीप्रसाद सुवेदी लमजुङ र स्नेह सायमी काठमाडौँलाई दिइएको थियो ।
एवम् प्रकारले महाकवि देवकोटा राष्ट्रिय पुरस्कार त्रिलोचन आचार्य, ठाकुरप्रसाद पराजुली, रामभरोस कापडी भ्रमर, बुँद राना र मोहन दुवाललाई प्रदान गरिएको थियो ।
ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो ।