काठमाडौँ । जनता–समाजवादी पार्टी नेपाल आधिकारिक रूपमा फुट्ने भएको छ । मङ्गलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबिच भएको छलफलमा जसपाको विभाजनसम्बन्धी प्रक्रियामा अगाडि बढ्न दुवै पक्ष सहमत भएका हुन् ।
जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो । तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रियानुरूप आआफ्नो बाटो लाग्न तयार भएका हुन् ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताउनुभयो । अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुङ्ग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने, इजलासले सुनुवाइको प्रक्रिया अगाडि बढाएर विवाद निरूपण गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘आयोगले अब छिट्टै नै यो सन्दर्भमा इजलास गठन गर्छ, केही समयभित्रै नै र इजलासले सुनुवाइको प्रक्रिया अगाडि बढाउँछ ।’
जसपा उपेन्द्र यादव पक्षका नेता महेन्द्रराय यादवले महन्थ ठाकुर पक्षीय नेताले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुन सक्ने बताउनुभयो । पार्टीमा चैत्र ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुन सक्ने कुरा आफूहरूले छलफलका क्रममा राखेको उहाँले बताउनुभयो ।
जसपा महन्थ ठाकुर पक्षका नेता अनिलकुमार झाले आफूहरूले कुनै पनि गल्ती र असंवैधानिक काम नगरेकाले क्षमा माग्नुपर्ने अथवा आत्म आलोचना गर्नु आवश्यक नरहेको बताउनुभयो । उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ आगाडि बढेको उहाँले बताउनुभयो ।