वीरगञ्ज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोनअन्तर्गत पश्चिमी पर्साको झुलिटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न गरेको छ ।
पर्सागढी नगरपालिका वडा नं. ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने भन्नेबारेमा सो प्रदर्शनी गरिएको थियो ।
स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि औजार कारखानाको प्राविधिक सहयोगमा मेसिनबाट कसरी धान रोप्नेबारे प्रदर्शनी गरिएको हो । राइस ट्रान्स प्लान्टर भन्ने मेसिनबाट करिब १० कठ्ठा क्षेत्रफलमा धान रापिएको थियो ।
यस प्रविधिबाट बढी काम, समयको बचत र उत्पादनमा वृद्धि हुने परियोजना प्रमुख रोशन अधिकारीले बताउनुभयो ।
पर्साको ग्रामीण क्षेत्रका किसानले परम्परागत रूपमा धानखेती गर्दा बढी समय र लागत बढी लाग्ने तथा उत्पादन कम हुने भएकोले यस वर्षदेखि किसानलाई मेसिनबाट धान रोप्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।
परम्परागत रूपमा खेती गर्नुभन्दा मेसिनले धान रोप्दा समय, श्रमिक र आर्थिक बचतसमेत हुने भएको बताउँदै कृषि औजार कारखानाका प्राविधिक अधिकृत द्वारिका चौधरीले मेसिनबाट धान रोप्दा एक जना अपरेटर र एक सहयोगीले मात्र मेसिन चलाउने र कम खर्चमा बढी उत्पादन लिन सकिने भएकाले सबै किसानलाई मेसिनबाट धान रोप्न आग्रह गर्नुभयो ।
मेसिनबाट धान रोप्दा २५ सेन्टिमिटरको दुरीमा लाइन लगाएर धान रोपिने र एक घण्टामा आधा लिटर डिजल मात्र खर्च हुने भएकोले ६० प्रतिशत समयको बचत हुने देखिन्छ । करिब ८ लाख मूल्य पर्ने सो मेसिनको प्रयोगले धान रोप्दा कम लागतमा बढी उत्पादन लिन सकिने कृषि इन्जिनिजयर छिरिङ शेर्पाको भनाइ छ ।
सुनखरी कृषि सहकारी संस्था झुलिटारका अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको सो मेसिनले धान रोप्ने प्रविधिको प्रदर्शनीमा त्यस क्षेत्रका किसानले आफू पनि धान रोप्दा उक्त मेसिन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस आवमा सञ्चालित बाली चक्लाबन्दी कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय पर्साले सो कार्याक्रम लागु गरेको छ । (रासस)





