जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सञ्चालन नहुँदै भासिएको छ। १० वर्ष लगाएर बनेको पुल सञ्चालनको तयारी हुँदै गर्दा कमला नदीमा आएको सामान्य बाढीमा भासिएको हो ।
हुलाकी सडक अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित सो पूलको १२ वटा स्पानमध्ये पूर्वबाट दोस्रो स्पान भासिएको छ । सो पुल असार १३ गते नै हस्तान्तरण गरी सञ्चालनमा ल्याउने सम्झौता भएको थियो ।
४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । तर ७ वर्ष वित्दा पनि ढिलासुस्तीका कारण ३५ प्रतिशत मात्र काम भयो । पछि पप्पु कन्ट्रक्सनले हात झिकेपछि लुम्बिनी बिल्डर्सको निर्माणको जिम्मा लिएको थियो । २४ करोड ४२ लाखको लागतमा यो पुल निर्माण भएको हो ।
पुल भासिएपछि निर्माण कम्पनीलाई कारबाहीको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताउनुभयो । पुलको गलत डिजाइन वा गुणस्तरहीन रहेको कारण भासिएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी कणेलको भनाइ छ ।