काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिँढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनभएको छ ।
सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले असभ्यता बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सांस्कृतिक अवपतन यो महामारीको रुपमा जुन फैलिएको छ, यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौं, हाम्रो नयाँ पिढीँलाई सम्झाउन सकेनौँ, अरुको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबैकुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ ।
कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ । जुन अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँलाई बढीमा दुइ वर्ष भित्र पराजित गर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड – १९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताउनुभएको छ । उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउदैँ जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला योगको असाधारण महत्व छ । कोभिड – १९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ बनाउन, शारिरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारिरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादीता जगाउन, जीवनलाई वस्तुपरक ढंगले जीवनको रुपमा हेर्न, बुझ्न योग जरुरी छ ।’