टेकराज भुसाल, सन्धिर्ख ।।
अर्घाखाँची भूमिकास्थान नगरपालिका २ नम्बर वडामा बाख्राको वंशसुधारको माध्यमबाट मासु उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यका साथ सामुदायिक बोयर बृडरहर्ड (नस्ल सुधार श्रोतकेन्द्र) स्थापना गरिएको छ ।
सो सम्बन्धमा नेपाल लाइभ स्टक सेन्टर इनोभेसनको आयोजनामा केन्द्रित आयोजना सहयोग एकाइ बुटबलको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गर्ने गरी आयोजनाको जिल्लास्तरको सरोकारवालाबिच विचार विमर्श मन्च (योजना समिति) को निर्णयानुसार भूमिकास्थान नगरपालिका वडा न. २ मा साविकमा सञ्चालन हुँदै आएका सामुदायिक बोयर मल्टिप्लायर हर्डलाई स्तरोन्नति गरी सो समुदायका आसपासका थप किसानलाई सङ्गठित गरी सामुदायिक स्तरको बोयर बृडरहर्ड सञ्चालन गरिने भएको छ।
उक्त कार्यक्रमको नेतृत्व भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङमा रहेको श्री प्रगति कृषक सहकारी संस्था लिमिटेडको मातहतमा बृडरहर्ड मूल समिति बनाई कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।
उक्त क्षेत्रका करिब १७५ जनाले कम्तिमा ३–५ वटा बाख्रा पालेका कृषकलाई सङ्गठित गरी करिब १००० प्रजननयोग्य माउ बाख्रामा शुद्ध नस्लको बोयर बोकाबाट प्रजनन गराई वा शुद्ध बोयर सिमेनबाट कृत्रिम गर्भाधान गराई बाख्राको वर्णशङ्कर उत्पादनको माध्यमबाट उन्नत नस्लका पाठापाठी उत्पादन गरी विस्तार गरिने कार्यक्रमको लक्ष्य रहेको छ ।
सो सम्बन्धमा २०७८ जेठ ३० गते कोरोना सङ्क्रमणको जटिल परिस्थितिमा वैकल्पिक (भर्चुअल) माध्यमबाट प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङका पदाधिकारीबिच आयोजनाका अनुगमन मूल्याङ्कन अधिकृत लोकराज भुसाल र प्राविधिक सुन्दरलाल विकले कार्यक्रमबारे अभिमुखीकरण गराउनुभएको थियो ।
कार्यक्रमको अन्तमा प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङका अध्यक्ष भुवानन्द भुसाल (दुनाराम) ले आफूहरू यस प्रकारको कार्यक्रमबाट निकै उत्साहित भएको र किसानको जीविकोपार्जनका लागि आयआर्जनमा यसबाट निकै सहयोग पुगी यस क्षेत्रका बाख्राको वंशसुधारमा निकै परिवर्तन गराई उत्पादन बढाउन सकिने भएकाले सहकारीले सबैसँग सहकार्य गरी आयोजनाको उद्देश्यानुसार कार्य गर्ने प्रतिबद्धतासहित आयोजनाप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।





