काठमाडौँ । गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त भएका छन् । २०७८ जेठ २८ गते शुक्रबार बसेको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाको सिफारिसमा पदमुक्त गरिएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएपछि थापा पदमुक्त भएका हुन् ।
जेठ २७ गते बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा थापा तटस्थ बसेका थिए । पार्टी निर्णय विपरीत तटस्थ बसेका कारण उनलाई पार्टीले कारबाही गरेको हो । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
यसअघि पनि थापालाई पार्टीले कारबाही गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो ।
त्यस विरुद्ध थापाले विपक्षी बनाएका जनमोर्चा पार्टीका नेता र सभामुख अधिकारी अदालतमा सो आदेश बदर गर्न माग गर्दै पुनः सर्वोच्च पुगेका छन् । त्यसबारे सुनुवाइका लागि अदालतले दुवै पक्षलाई सोमबार अदालतमा बोलाएको छ ।
कृष्ण थापा पदमुक्त भएपछि सदनमा बहुमत हासिल गर्नुपर्ने सङ्ख्या कम भएको छ । अब सरकार बनाउन ३० जना सभासद हुँदा पुग्ने छ । मन्त्री रहेका दिपक मनाङेलेसमेत विपक्षीलाई साथ दिने घोषणा गरिसकेका छन् ।