काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट निष्काशित गण्डकी प्रदेश सांसद कृष्णा थापाविरुद्ध ‘भ्याकेट’ निवेदनको सुनुवाई भोलि (बिहीबार) हुने भएको छ । भोलि नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम छ ।
थापालाई कारबाही नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा र प्रदेश सभाका सभामुखले ‘भ्याकेट’ को निवेदन दर्ता गराएका हुन् । निवेदन हिजै दिइएको भएपनि समय अभावका कारण आज (बुधबार) दर्ता भएको हो ।
राजमोको तर्फबाट गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापाले भ्याकेट दर्ता गराउनुभएको हो भने थापाले विपक्षी बनाएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पनि भ्याकेटको माग गर्नुभएको छ ।
भ्याकेटको निवेदनमा सर्वोच्चले थापालाई कारबाही नगर्न दिएको अन्तरिम आदेश बदर गर्न माग गरिएको छ । प्रदेश सांसद थापाले पार्टी निर्णयविपरित मुख्यमन्त्री थापालाई समर्थन गरेपछि उनलाई राजमोले सांसद पदबाट हटाउनुका साथै पार्टीबाटसमेत निष्काशित गरेको थियो ।
त्यसविरुद्ध थापा सर्वोच्च अदालत पुगेपछि सर्वोच्चले उनलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो।
ओलीकै बाटोमा मुख्यमन्त्री गुरुङ
बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री गुरुङले बिहीबार नै मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । संविधानको धारा १६८ (५) को सरकार बन्नै सक्दैन भने सरकार प्रमुखले समयावधि छुट्याउन आवश्यक नरहेको गुरुङपक्षको तर्क छ ।
हालको सत्ता समीकरणको स्थिति र वैशाख २९ को आधारमा परिवर्तन नभएको जिकिर गर्दै मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारको तयारी रहेको बताइएको छ । वैशाख २९ मा विपक्षी दलहरुले बहुमत पुर्याउन सकेका थिएनन् ।
संविधानको धारा १६८ (७) मा १६८ (५) अनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा संसद् भंग गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने व्यवस्था छ ।