काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको सुरुदेखि नै शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने जनाएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिन देखि नै कार्यान्वयनमा लैजाने बताउनुभएको हो ।
मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने बताउनुभयो ।
चालु आर्थिक वर्षको असार मसान्तभित्रै आगामी आ.व.को बजेट कार्यान्वयनका निम्ति आवश्यक निर्देशिका लगायतका पूर्वतयारीको काम सम्पन्न गरिसक्ने भन्दै उहाँले आगामी आ.व.को साउन १ गतेदेखिनै बजेट कार्यान्वयन प्रक्रियालाई तिव्रता दिइने बताउनुभयो ।
शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै दुविधा नराख्न भन्दै उहाँले उहाँले ऋण लिन चाहाने विद्यार्थीले आफ्नो परियोजना बीचमा असफल नुहने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गर्नुभयो ।
अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आगामी आ.व.मा १५ सय विद्यालयको पूर्वाधार निर्माण गर्ने र देशका सम्पूर्ण स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम अगाडि बढ्ने पनि जानकारी दिनुभयो ।