धनवीर पुन, नयाँदिल्ली ।।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष प्रतिगामी–अधिनायकवादीले नेपाली जनतालाई खरिदविक्रीको वस्तु बनाउने कोसिस गरेको बताउनुभएको छ ।
अध्यक्ष केसीले केपी ओलीको प्रतिगामी एवम् राष्ट्रघाती कदमका विरुद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा मे ३० का दिन सम्पन्न भर्चुअल विरोधसभालाई सम्बोधन गर्दै भन्नुभयो– “प्रतिगामी–अधिनायकवादीले नेपाली जनतालाई खरिदविक्रीको वस्तु बनाउने कोसिस गरेका छन् ।”
“चुनावको मिति घोषणा गरेको प्रतिगामी कामचलाउ सरकारले अध्यादेशमार्फत पूर्ण बजेट पेस गरेको छ, जो प्रतिगामी अधिनायकवादी कदमको निरन्तरता हो । सामान्य मान्यतानुसार चुनावको मिति घोषणा भइसकेपछि कुनै पनि नयाँ योजना घोषणा गर्न मिल्दैन” उहाँले भन्नुभयो– “त्यो चुनावी आचार संहितानुसार जनतालाई लालच दिई उनीहरूको अमूल्य भोट खरिद गर्नु हो । ”
“अहिले खुल्ला रूपबाट दल तथा सांसद मात्र होइन, आम जनतालाई समेत खरिदयोग्य वस्तु बनाउने कोसिस गरेका छन् । ओलीको त्यो षड्यन्त्रबाट जोगिँदै प्रतिगमन विरुद्धको आन्दोलनलाई अगाडि बढाउनुको विकल्प छैन” उहाँले भन्नुभयो ।
“नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षको परिणामका कारणले नेपालमा गणतन्त्रको स्थापना भएको थियो । जनताले वाम गठबन्धनलाई दुईतिहाइ बहुमत दिएका थिए । वाम गठबन्धनका दुई ठुला घटक एमाले र माओवादीले पार्टीएकता गरेर नेपालमा स्थायी सरकार बनाएका थिए” केसीले भन्नुभयो– “तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको अन्तरकलह मिलाउन नसकेको र आफ्नो सत्ता जोगाउन अलोकतान्त्रिक, असंवैधानिक कदम चाल्दै संसद विघटन गरे । सर्वोच्चले संसदको पुनस्थापना गरेपछि नैतिकताको आधारमा राजीनामा दिई देशलाई राजनीतिक निकास दिनुपर्नेमा षड्यन्त्रपूर्ण ढङ्गबाट स्वेच्छाचारी, प्रतिगामी र अधिनायकवादी कदम चाल्दै पुनः संसद विघटन गरेका छन् ।”
“आफ्नो असंवैधानिक कदमलाई अगाडि बढाउन प्रतिगामी कदमको विरोध गरेका राजनीतिक दलका सांसदलाई प्रलोभन दिने र आफ्नो पक्षमा लैजाने प्रयत्न गरे” केसीले भन्नुभयो– “भारतीय साम्राज्यवादको आशिर्वाद प्राप्त गर्न र मधेसवादी दललाई खुसी पार्न उनीहरूले उठाउँदै आएको नागरिकता संशोधन ऐनलाई अध्यादेशमार्फत जारी गरेका छन् ।”
नागरिकता अध्यादेशले नेपालमाथि जानसाङ्ख्यिक हमला गरि नेपालको राष्ट्रियतालाई कमजोर बनाउने र नेपाललाई फिजीकरण गर्दै सिक्किमीकरणको दिशामा बढाउने भारतीय साम्राज्यवादी योजनालाई बाटो खोलेको केसीले बताउनुभयो ।
भाकपा (माले) रेडस्टारका महासचिव केएन रामचन्द्रनले पुँजीवादद्वारा विश्वस्तरमा प्रकृतिको अत्यधिक दोहनका कारणले पर्यावरणमा भएको परिवर्तनको दुष्परिणाम स्वरूप कोरोना महामारी फैलिएको बताउनुभयो ।
“यदि समयमै सचेत भई पर्यावरणको रक्षा गर्न नसकेको खण्डमा कोरोनाभन्दा भयानक अर्को महामारी आउन सक्छ” रामचन्द्रनले अगाडि भन्नुभयो– “पुँजीको होडबाजीमा व्यस्त साम्राज्यवादी शक्तिले पर्यावरणको रक्षा गर्न सक्दैन । पर्यावरणसम्बन्धी उसको चिन्ता देखावटी मात्र हो । आम श्रमजीवी जनताको नेतृत्वमा गठित सरकारले नै पर्यावरणको रक्षा गर्न सक्छ ।”
महासचिव रामचन्द्रनले नेपाली जनताले चलाएको प्रतिगमन विरुद्धको आन्दोलनलाई भारतीय मिहिनेतकस जनता र आफ्नो पार्टीको तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँहरूले पनि नेपालको राजनीतिक स्थिरताका लागि प्रतिगन विरुद्धको आन्दोलनलाई अगाडि बढाउने विषयमा जोड दिनुभएको थियो ।
त्यस्तै, अखिल भारत नेपाली एकता मञ्चका अध्यक्ष ईश्वरी भण्डारी र प्रवासी नेपाली सङ्घका महासचिव डम्बर रावलले आफूहरू प्राविधिक समस्याका कारणले कार्यक्रममा जोडिन नसकेता पनि कार्यक्रमप्रति फोन मार्फत ऐक्यबद्धता जनाउनुभएको थियो ।
कार्यक्रम महासचिव ठाकुर खनालको सञ्चालन र उपाध्यक्ष कपिल खनालको अध्यक्षताबाट अगाडि बढेको थियो । ज्ञातअज्ञात सहिदको सम्झनामा एक मिनेट मौनधारणपछि कुलबहादुर थापाले सहभागीलाई स्वागत गर्नुभएको थियो ।