काठमाडौं ।लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई पराजित गर्दै विपक्षी गठबन्धनका दृगनारायण पाण्डे विजयी हुनुभएको छ ।
सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो ।
जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गर्नुभयो भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गर्नुभयो । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।
पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र, एमाले (नेपाल) पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाको साथ थियो ।
यसअघि जेठ ६ मा वागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै गठबन्धनको तर्फबाट खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।