महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश मन्त्रिमण्डल पुनर्गठन भएको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले चार मन्त्री र चार जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।
प्रदेश सरकारबाट नेकपा (एमाले)का दुई मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) को विवादको असर सुदूरपश्चिम प्रदेश सरकारमा परेको हो । त्यहाँ एमालेको नेपाल–खनाल पक्ष बलियो छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय प्रदेश संसदीय दलका बहुमत सदस्यले उल्लंघन गरेका थिए । शुक्रवार मन्त्री नियुक्त हुने सबैजना नेकपा (एमाले)को नेपाल–खनाल समूहका हुन् ।
सोही गरेको आरोपमा यी दुईजना मन्त्रीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बिहीवार स्पष्टीकरण सोधेको थियो।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारमा चार मन्त्री थपिएका छन् । भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र उद्योग, वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी नियुक्त हुनुभएको हो । सामाजिक विकास मन्त्रालयमा लाल बहादुर खड्का नियुक्त हुनुभएको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाश बहादुर शाह नै दोहोरिनुभएको छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा विनितादेवी चौधरी नै कायमै गरिएको छ ।
यस्तै, मुख्यमन्त्री भट्टले चार जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुन कुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्रीमा मना कुमारी साउँद, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मान बहादुर सुनार थपिनुभएको हो ।
