– लक्ष्मणदेव पाण्डे –
हेर त त्यो रातो योद्धा हो
किनकि ऊ ठिङ्ग दुवै खुट्टाले टेक्न सक्छ
हेर त त्यो अजम्बरी खम्बा हो
किनकि न कसैले भाँच्न सक्छ, न काट्न सक्छ
गरिब, सर्वहाराको पक्षमा उभिने कसम खाएको छ
उज्यालो भविष्यको चित्र आँखामा सजाएको छ
अन्याय–अत्याचारको जालो च्यात्ने अठोट लिएको छ
माक्र्सवादी वैज्ञानिक दर्शनले सुसज्जित भएको छ
समाजमा हुने विभेद विरुद्ध मोर्चामा सामेल छ
अन्धविश्वास, कुरीति, कुसंस्कार विरुद्ध मसाल बाल्दै छ
आडम्बरी, ढोगी समाजका कर्तुत छरप्रष्ट पार्दै छ
उज्यालो भविष्य बनाउन चेतनाको दियो बाल्दै छ
लोभ, प्रलोभन र लाभका अफर उसलाई आइरहन्छन्
धाक, धम्की र डरत्रासका लप्का उसमाथि आइरहन्छन्
उसलाई ढाल्न खोज्ने सबै प्रयास उसका अगाडि ढल्दै जान्छन्
उसलाई गलाउन खोज्ने सबै षड्यन्त्र उसका अगाडि गल्दै जान्छन्
ऊ प्रतिक्रियावादी राज्यसत्ता र साम्राज्यवादीको घेराभित्र छ
तर आज माक्र्सवादी दर्शन र विचारले एक्लै लडिरहेको छ
ऊसँग मुक्तियात्राका अजेय यात्रीहरू सँगै छन्
प्रतिक्रियावादी र साम्राज्यवादीका सबै अस्त्र निस्तेज भएका छन्
ऊ झन्पछि झन् स्पातिलो बनिरहेको छ
किनकि उसले अटल र गर्विलो नेतृत्व पाइरहेको छ
आज ऊ एकपछि अर्को मोर्चा कसिरहेको छ
किनकि उसको नेतृत्व संसार बदल्ने पार्टीले गरिरहेको छ

