काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एक अर्को पक्षलाई पार्टी विधानविपरित गएको भन्दै स्पष्टीकरण सोधेको छ । अध्यक्ष महन्थ ठाकुरलाई अर्का अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे स्पष्टीकरण सोधेको बदलामा यादवलाई ठाकुरले सात बुँदे स्पष्टीकरण सोध्नुभएको छ ।
अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई सात बुँदे स्पष्टीकरण सोध्नुभएको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।
पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको कारबाहीको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।
स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्काशन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट निवेदन दायर गर्न गएको र एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।
त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयानुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णयबेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।
यादवद्वारा ठाकुरलाई स्पष्टीकरण
यता, अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण सोध्दै पत्र पठाउनुभएको छ । हालैका केही दिनहरुमा ठाकुरको काम कार्बाही र क्रियाकलापहरु पार्टीको नीति विधि विपरित भइरहेको भन्दै स्पष्टीकरण मागिएको पत्रमा उल्लेख छ ।
ठाकुरलाई तीन दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ । चित्तबुझ्दो जवाफ नआएमा कार्बाहीको चेतावनी दिएको छ ।
९ बुँदामा सोधिएको प्रष्टीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै प्रश्न गरिएको छ। पार्टीको कार्यकारिणी बैठकमा अनुपस्थित हुने तर आफ्ना समर्थकको बैठक बोलाएर गुटबन्दी गरेको आरोप ठाकुरलाई छ।
यस्तै, पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरि संघीय संसदलाई पत्र पठाएको भन्दै जवाफ मागिएको छ।
यस्तै राजेन्द्र महतोसँग ६ बुँदे, लक्ष्मणलाल कर्णसँग ५ बुँदे, सर्वेन्द्रनाथ शुक्लसँग ५ बुँदे स्पष्टीकरण सोधिएको छ।