काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर सम्पादकहरुलाई सर्वोच्च अदालत बोलाइएको घटना प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै आपत्ति जनाएको छ ।
समाचारको विषयलाई लिएर ‘इमेज खबर डटकम’ का सम्पादक राजन कुइँकेल र ‘नेपाल समय डटकम’ का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
प्रकाशित र प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’ महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’
संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ ।