घोराही । दाङ देउखुरीस्थित राप्ती नदीमा फेरि अवैध उत्खनन् सुरु भएको छ । निषेधाज्ञाको मौका छोपेर नदीमा जथाभावी नदीजन्य पदार्थको उत्खनन् गर्न सुरु गरिएको हो ।
प्राकृतिक सम्पदाको जथाभावी उत्खननले मानव जीवनमा असर पर्नसक्ने भन्दै राष्ट्रिय जनमोर्चा दाङले अवैध उत्खनन रोक्न माग गरेको छ । नदीमा अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खननप्रति पार्टीको ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष गणेश आचार्यले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपूर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदीमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खनन् प्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्राकृतिक सम्पदाको अनियमित दोहनकै कारण पर्यावरणमा समेत संकट उत्पन्न भएको छ । यसैका कारण मानव जीवनसमेत संकटमा परेको छ । यस्तो अवस्थामा केही मान्छेहरुको स्वार्थसिद्धिको लागि प्राकृतिक सम्पदाको बिनास गर्नु गम्भीर आपत्तिको कुरा हो । हाम्रो पार्टीले यो विषयमा लगातार आवाज उठाइरहेको छ ।
खोला वा नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्नको लागि सरकारले बनाएको मापदण्ड बिपरित खोलामा ठूला ठूला मेसिन लगाइ घाटगद्दिको नाममा अनियन्त्रित उत्खनन् भैरहँदा पुलिस, प्रसासन र स्थानीय सरकारले त्यसको संरक्षण गर्ने कुरा झनै आपत्तिजनक छ । यस प्रकारको क्रियाकलापको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा घोर निन्दा तथा भर्त्सना गर्न चाहान्छ ।
तत्काल खोलामा भैरहेको अनियन्त्रित उत्खनन् बन्द गर्न हामीले स्थानीय सरकार र जिल्ला प्रसासनलाई अनुरोध गर्न चाहान्छौं । अन्यथा यो विषम अवस्थामा पनि हाम्रो प्राकृतिक सम्पदाको रक्षाको लागि बाहिर निस्कन बाध्य हुनेछौं ।’