काठमाडौं । नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ। सोमबार बसेको स्थायी समिति बैठकले उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निस्कासित गरिएको हो ।
वरिष्ठ नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।
उनीहरुलाई पार्टी हितविपरित काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन्। नेपाल र खनाल दुवैजना पूर्वप्रधानमन्त्री तथा पूर्वपार्टी प्रमुख भएका नेता हुन् ।
त्यसैगरी, आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सो बैठकले थप १२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी हस्ताक्षर गरी सर्वोच्च अदालत जानेमध्येका थप १२ जनालाई सो स्पष्टीकरण सोधिने भएको हो।
स्पष्टीकरण सोधिएका नेताहरुमा घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
आजै पार्टीबाट निष्काशन गरिएका ११ जना र थप १२ जना गरी २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक नेताले बताए ।
सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद मध्ये एमालेका मात्र २५ सांसद छन् । यस्तै माओवादी केन्द्रका १४ जना सांसद छन् । यसैगरी नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।
